futsal-final
विराटनगरमा पहिलो पटक सञ्चालित कर्पोरेट स्तरको म्याजिक विराट फुटसल कपको उपाधि मनमोहन स्मृति पोलिटेक्निकले जितेको छ । मिति २०७३/०५/११ गते शनिबार साँझमा भएको अत्यन्तै रोमाञ्चक फाइनल खेलमा मकालु टेलिभिजनलाई ५–३ गोल अन्तरले पराजित गर्दै मनमोहनले उपाधि चुमेको हो ।

आवर विराटनगर डट नेट र हिट एण्ड ह्याङ आउट फुटसलको संयुक्त आयोजनामा भएको खेलमा १६ फुटसल टोली सहभागी भएका थिए । अत्यधिक दर्शकहरुबीच भएको रोमाञ्चपूर्ण फाइनल खेलमा मकालु टेलिभिजनले मध्यान्तरसम्म ३–१ गोलले खेलमा दवाब राखेको थियो । तर मध्यान्तरको लगत्तै मनमोहनले प्रतियोगिताको आफूलाई उत्कृष्ट टिम साबित गर्दै उपाधि जित्न सफल भएको हो । मनमोहनका तर्फबाट रञ्जन चौधरी र युवराज चौधरीले २/२ तथा अमित खाँले १ गोल गर्नु भएको थियो ।

 

नकआउटका अाधारमा खेलाइएको प्रतियोगितामा आफ्नो पहिलो खेलमा मनमोहनले अान्तरिक राजस्व कार्यालय विराटनगरलाई ७-४ गोल अन्तरले पराजित गरेको थियो भने क्वार्टर फाइनल खेलमा सनराइज बैंक सँग ५-५ गोलको बरावरी खेल्दै टाई ब्रेकरमा हराउन सफल भएको थियो । सेमीफाइनलमा भने मनमोहनले मेघा बैंकलाई ५-० गोल अन्तरले सहजै पराजित गरेको थियो ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी मनमोहनका कप्तान अमित खान भए ।
एन्फाका केन्द्रीय सदस्य तथा फुटसल समितिका अध्यक्ष बसन्तराज अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगिताको समापन समारोहमा एन्फाका केन्द्रीय उपाध्यक्ष सन्तोष बानिया, मुख्य प्रायोजक म्याजिक फुटवेयरका निर्देशक राजेश बगडिया तथा कार्यकारी निर्देशक हरिष पोद्दार, होटल ह्यारिसनका बिनोद दुगड, फिफाका निर्णायक किरण गिरी, हिट एण्ड ह्याङ आउट फुटसलका निर्देशक विनोद अग्रवाल लगायतको उपस्थिति थियो ।
प्रतियोगिताको विजेता टोलीलाई आकर्षक ट्रफीसहित १५ हजार रुपैयाँ , उपविजेतालाई ट्रफीसहित १० हजार र उत्कृष्ट खेल टोलीलाई पदकसहित ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

Picture Courtesy: ourbiratnagar.net